मलाई मन छ……….. 

मलाई त्यो हिमालको सौन्दर्यता मन पर्छ, त्यो तराईको प्राचुर्यता मनपर्छ, ती पहाडका सभ्यताका कथा मन पर्छन्। मलाई असारको हिलोमा हिलिन मन पर्छ, भदौको झरीले मकैका पातमा लेखेको गीत सुन्न मनपर्छ, अनि दशैँको त्यो उत्साह र तिहारको रङ पनि। पुसमाघको ठिर्याही तोरीको गट्टेमा पट्पट् गर्न मनपर्छ अनि फागुनको रंगमा होली खेल्न। चैतको फुङ्ग उडेको याममा वैशाखको काँचुलीको कुतकुतीमा बिर्सन मन पर्छ। जेठको गर्मीमा बाटाका मोहीहरू चाख्दै मनकामना माईको दर्शन गरी दरौंदीको शितलतामा पौडिन मन पर्छ। रेनीको झोलुङ्गेपुल हल्लाएर प्रियसीलाई अत्याउने मन छ। मलाई अत्तरिया चोकमा बेच्न राखेको बेलौतीको बास्नासँग मितेरी गाँस्न मन छ, नेपालगञ्जको बीरेन्द्रचोकमा रावडी खाँदै रिक्सामा बजार घुम्न मन छ, बर्दियाको तारातालमा डल्फिनसँग मोहनी लगाउन मन छ, चापागाउँपारिको त्यो लोसेको वनमा साथीसंगीसँग वनभोज जान मन छ, दामनमा हिउँमा लडिबुडी गर्न मन छ, स्याब्रुमा त्रिशुलीको पानी हातले उभाएर तिर्खा मार्न मन छ, तिखेढुङ्गाबाट खच्चरसँगै उल्लेरीको उकालो काट्न मन छ, पुनहिलमा पुगेर लालीगुराँसले राताम्ये डाँडोमा अन्नपूर्णलाई शिरानी बनाएर डाँफे संगै सुस्ताउन मन छ, पलाञ्चोकको भगवती हेरेर त्यो मूर्तिकारको फेरि प्रशंसा गर्न मन छ, राम्चेमा त्यो युरिखर्कको बुढो तामाङ बाको लडाइँको कथा फेरि सुन्न मन छ, अनि हिउँदमा छोराछोरीलाई भोटो हाल्दिने अठोटले कोहलपुर जिम्बू बेच्न झरेका जाजरकोटे दाइसँग जीवनदर्शनको पाठ सिक्नु छ। मलाई धनकुटाबाट रवि हुँदै इलाम झरेर कन्याममा वास बस्न मन छ। शंखु खोलामा क्यात्तुकेको पातको धारा बनाई नुहाएर शंखेश्वोरीको दर्शन गरी नमोबुद्धमा जिन्दगीको शाश्वतताको चिन्तन गर्न मन छ। पाल्पामा चुकौनी टड्कार्न मन छ, हनुमानचोकबाट रामजानकीको विवाहमा जन्ती जान मन छ, नाम्चेबजारमा शेर्पिनी दिदीको घरमा लोह्सार मनाउने मन छ, कोशीको बाँध छेऊको एकनाथ बाजेको पसलमा चिया खाने मन छ। सौराहामा रापतीको डिलमा बसेर सूर्यास्त हेर्न मन छ। लौरीबिनाबाट चौरीसँगै सिधै ठाडो ओरालो सिंग गोम्पा ओर्लिन मन छ।

A paragraph copied from heart touching article of Dr. Nabin Sapkota on Nagariknews.com

http://nagariknews.com/nagarik-blog/85-blog/22762-2011-01-25-12-08-43.html